गोरखामा मकै सुकाउने पर्व मनाइयो

गोरखा | मंसिर १२, २०८०

गोरखामा मकै सुकाउने पर्व मनाइयो

गोरखा:    गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गएराति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् ।


ठूलो आँगनमा ठूलो प्लास्टिक ओछ्याएर त्यहीँमाथि भुटेको मकै, बदाम, भटमास, चना, केराउनलगायतका खाद्यान्न चन्द्रमाको प्रकाशमा सुकाएर पर्व मनाइएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । मकै सुकाउने पर्व मनाउनका लागि स्थानीयवासीले आ–आफ्नो घरबाट आफूखुसी मकैसहितका गेडागुडीलगायतका अन्नबाली ठूलो आँगनमा सुकाउन लगेका थिए ।


सुकाएको खानेकुरालाई प्रसादका रूपमा बाँडेर खाने प्रचलन छ । “सोमबार साँझको जुनमा स्थानीयवासीले घर–घरबाट ल्याएका मकैलगायतका अन्न चन्द्रमाको प्रकाशमा सुकाएर मकै सुकाउने पर्व मनाइएको हो”, नेवार समुदायका अगुवा मोहनलाल श्रेष्ठले भने, “करिब ४० वर्ष जति मनाउन छाडिएको यो पर्व गत वर्षदेखि परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ सामूहिकरूपमा मनाउन थालिएको हो ।”


कार्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायत गेडागुडी, फलफूल, सखरखण्डका साथै अन्य खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ मकै सुकाउने पर्व मनाउने गरिएको उनको भनाइ छ । शुक्ल पूर्णिमाका दिन चन्द्रमाको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने विश्वाससमेत रहेको अगुवा श्रेष्ठले बताए ।


परम्परागतरूपमा नेवार समुदायले घर–घरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिकरूपमा मनाउन थालिएको उनले जानकारी दिए । उनले परम्परा र संस्कतिलाई पुस्ता हस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको केही वर्षदेखि पुनः मनाउन थालिएको जानकारी दिए ।


मकै सुकाउने पर्वका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले नेपालको परम्परा संस्कृतिमध्ये मकै सुकाउने पर्व पनि एक भएको बताए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्